जमिनमुनिको पानी धेरै तान्दा के हुनसक्छ? तेहरानको उदाहरण

जमिनमुनिबाट अत्यधिक मात्रामा पानी तान्यो र भूमिगत पानी 'रिचार्ज' हुन पाएन भने त्यसको परिणाम के हुनसक्छ?

यसको पछिल्लो उदाहरण इरानको राजधानी तेहरानमा देख्न सकिन्छ।

पश्चिम एसियाकै सबभन्दा बढी जनसंख्या भएको यो सहर केही समययता निरन्तर भासिँदै गएको छ। भूगर्भ वैज्ञानिकहरूले स्याटलाइट तस्बिर विश्लेषण गरी तेहरानका केही भाग वर्षको २५ सेन्टिमिटरका दरले भासिँदै गएको बताएका छन्।

जर्मन रिसर्च सेन्टरका भूगर्भ वैज्ञानिकहरूले सन् २००३ देखि २०१७ सम्मको स्याटलाइट तस्बिरका आधारमा यस्तो निष्कर्ष निकालेको ‘नेचर डटकम’ ले लेखेको छ। उक्त रिसर्च सेन्टरले तेहरान र वरिपरिको भौगर्भिक अवस्थितिबारे अध्ययन गरिरहेको छ।

करिब १ करोड ३० लाख जनसंख्या रहेको तेहरानमा खानेपानी तथा सिँचाइ निम्ति भूमिगत पानीको व्यापक प्रयोग हुन्छ। जमिनमुनिबाट अत्यधिक पानी खिच्दा भूमिगत स्रोत रित्तिन गई भासिन थालेको वैज्ञानिकहरूले बताएका छन्।

अत्यधिक कंक्रिट संरचना निर्माणले यो समस्या अझ बढाएको छ। कंक्रिट संरचनाले जमिनमुनि पानी ‘रिचार्ज’ हुने ठाउँ दिँदैन।

यही कारणले तेहरानमा भूमिगत पानीको सतह जोखिमपूर्ण अवस्थामा पुगेकोबारे यसअघि पनि थुप्रै अध्ययन भएका थिए। जर्मन रिसर्च सेन्टरको पछिल्लो अध्ययनले नयाँ तथ्यांक सार्वजनिक गरेको हो।

अध्ययनअनुसार तेहरानको पश्चिमी क्षेत्रमा भासिने क्रम सबभन्दा तीव्र छ। यो ठाउँ वर्षको २५ सेन्टिमिटरका दरले भासिँदैछ। यो राजधानी तेहरानको अत्याधुनिक स्याटलाइट सहर र कृषिजन्य भूमि भएको ठाउँ हो। सिँचाइ र निर्माण कार्यमा प्रयोग हुने पानी भूमिगत स्रोतबाटै निकालिँदै आएको छ।

त्यस्तै, सहरको दक्षिणपूर्वमा पर्ने कृषिजन्य क्षेत्र पनि यही दरमा भासिँदैछ। यो पनि बढी भूमिगत पानी प्रयोग हुने ठाउँमा पर्छ।

यसले के देखाउँछ भने, जमिन भासिनु र भूमिगत पानीको स्रोत बढी चलाउनुमा प्रत्यक्ष सम्बन्ध हुन्छ। जुन ठाउँमा जमिनमुनिबाट अत्यधिक मात्रामा पानी तानिन्छ, त्यहाँको जमिन सुख्खा हुँदै जान्छ। जमिन भासिने र खाल्डो पर्ने समस्या बढी देखिन्छ। तेहरानका यी दुई क्षेत्रमा पनि ठाउँ–ठाउँ जमिन भासिएर खाल्डो परेका छन्।

इरानको राजधानी तेहरानमा जमिनमा परेको खाल्डो।

उता, तेहरानको दक्षिणपश्चिममा भासिने क्रम वार्षिक ५ सेन्टिमिटर छ। यो अन्तर्राष्ट्रिय विमानस्थल भएको ठाउँ हो।

‘तेहरानमा जमिन भासिने दर संसारकै सबभन्दा उच्चमध्ये पर्छ,’ स्पेनको एलिकान्ट विश्वविद्यालयका इञ्जिनियर रोबर्टो टोमसले भनेका छन्।

भूमिगत पानी, तेल, ग्यास र अन्य खनिज पदार्थ अत्यधिक मात्रामा उत्खनन् गर्दा जमिन भासिएका उदाहरण अन्य सहरमा पनि पाइन्छ। जनसंख्या वृद्धि पनि जमिन भासिनुको अर्को कारण हो।

स्याटलाइट तस्बिरका आधारमा भूभर्ग वैज्ञानिकहरूले इन्डोनेसियाको राजधानी जकार्ताका केही भाग वार्षिक २० सेन्टिमिटरभन्दा बढी भासिँदै गएको तथ्यांक निकालेका छन्। त्यस्तै, अमेरिकाको क्यालिफोर्नियास्थित सान हुआकिन उपत्यकामा त यो अझ बढी छ। यहाँ जमिन भासिने दर वार्षिक ६० सेन्टिमिटरसम्म पाइएको छ।

जर्मन रिसर्च सेन्टरको पछिल्लो अध्ययनअनुसार जमिन भासिने समस्याबाट तेहरानको सहरी क्षेत्रका १० प्रतिशत भूभाग प्रभावित छन्। दक्षिणपूर्वी क्षेत्रमा रहेका स्याटलाइट सहर र गाउँमा पनि यो समस्या बढ्दै छ।

‘यी क्षेत्रमा यसो हिँडडुल गर्दा पनि जमिन भासिएका दृश्य प्रशस्तै देखिन्छन्,’ अनुसन्धानकर्ता भूगर्भ वैज्ञानिक माहदी मोटागलाई उद्धृत गर्दै नेचर डटकमले लेखेको छ, ‘यहाँ ठाउँ–ठाउँमा सडकको सतह नै उबडखाबड छन्। पर्खालमा चिरा परेको देखिन्छ भने कतिपय भवनहरू ढल्किएका छन्। कतिपय ढल्किएका भवन पूरै भत्काउनुपर्ने अवस्था छ।’

जमिन भासिने क्रम बढ्दै जाँदा तेहरानको दक्षिणपश्चिम क्षेत्रमा कयौं किलोमिटर लामो चिरासमेत परेको छ। यो चिरा चार मिटरसम्म फराकिलो र गहिरो छ। यसले बिजुली प्रसारण लाइन र रेल्वे ट्रयाकमा असर पार्ने सम्भावना बढेको छ।

तेहरान र वरिपरिको क्षेत्रमा १ सय २० किलोमिटर लामो रेल्वे लाइन छ भने २ हजार ३ सय किलोमिटर सडक र २१ वटा पुल छन्। त्यस्तै, ३० किलोमिटर पेट्रोलियम पाइपलाइन, २ सय किलोमिटर ग्यास पाइपलाइन, ७० किलोमिटर लामो हाई–भोल्टेज विद्युत प्रसारण लाइन र २ लाख ५० हजारभन्दा बढी भवन छन्। लगातार जमिन भासिँदै जाँदा यी संरचना जोखिममा परेको भूगर्भ वैज्ञानिकहरू बताउँछन्।

यति मात्र होइन, भूमिगत पानीको प्रयोग बढ्नाले जमिनमा खाल्डा परेका देखिन्छन्। केहीअघि त्यस्तै एउटा खाल्डोमा एक स्थानीय किसान घन्टौंसम्म अड्किएका थिए। त्यो खाल्डो लगभग छ मिटर गहिरो भएको उनको अनुमान थियो।

भूमिगत पानीको दुरुपयोग रोक्न यहाँ सरकारी स्तरमा नियमन पनि हुँदै आएको छ। देशभरिमा करिब १ लाख गैरकानुनी इनारमा प्रतिबन्ध लगाइएको छ। अझै पनि ३० हजार इनार गैरकानुनी रूपमा सञ्चालन हुँदै आएको अनुमान छ।

प्रतिकृया दिनुहोस

मुम्बईको अस्पतालमा आगलागी आठजनाको मृत्यु, १४० घाइते

पुस ३, २०७५ भारतको मुम्बईस्थित एक अस्पतालमा आगलागी हुँदा आठजनाको मृत्यु  छ भने १३० जना भन्दा बढी घाइते भएका छन्।  मुम्बईको मरोल क्षेत्रस्थित

फ्रान्स : इन्धनमा लगाइएको कर तत्कालका लागि फिर्ता

फ्रान्समा इन्धनमा लगाइएको करवृद्धि तत्कालका लागि फिर्ता गरिएको फ्रान्सका प्रधानमन्त्री इडवार्ड फिलिपले बताउनुभएको छ । फ्रान्समा इन्धनमा

९.२ म्याग्निच्युड भुइँचालोबाट पाठ सिक्दा जोगियो अलास्का

  शनिबार अलास्कामा आएको भुइँचालोले भत्काएको राजमार्ग। तस्बिरः एपी अमेरिकाको अलास्कामा शनिबार ठूलो भुइँचालो गयो। ७ म्याग्निच्युडको भुइँचालोले