लथालिंग विराटनगरमा चार अर्बको भ्यू टावर

विराटनगर, पुष्पलाल चोकका अमृत पोखरेलले नगरक्षेत्र सफा देख्न चाहेको धेरै वर्ष भइसक्यो।

महानगरको धूलोमैलो, सडकको दुरावस्था र अव्यवस्थित ढल देखेर उनको मन पोल्छ। भट्टाचोकदेखि पुष्पलाल चोकसम्मको सडकबाहेक उनी हिँड्नलायक बाटो खासै देख्दैनन्। बरगाछीभित्रको एउटा सडक कालोपत्रे भएको छ। अरू जस्ताको तस्तै।

यसबीच स्थानीय चुनाव भयो। प्रदेश र संघीय चुनाव भयो। अब भने महानगरको रूप फेरिएला भन्ने धेरैलाई लागेको थियो। विराटनगरवासीको यो चाहनाविपरित यहाँको स्थानीय सरकार भने सडक निर्माण, ढल निकासजस्ता आधारभूत पूर्वाधारका काम छाडेर 'भ्यू टावर' निर्माणको योजनामा लागेको छ।

गरिब तथा पिछडिएका समुदायको बसोबास रहेको विराटनगर–३ मा महानगरपालिकाले १ सय १० मिटर अग्लो भ्यू टावर निर्माण योजना सार्वजनिक गरेको हो। यसको अनुमानित लागत चार अर्ब रूपैयाँ छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश नम्बर १ का कार्यवाहक मुख्यमन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे र महानगर प्रमुख भीम पराजुलीले आइतबार भ्यू टावर शिलान्यास गरेका छन्।

एक बिगाहा सात कठ्ठा क्षेत्रफलमा बनाउन लागिएको भ्यू टावर निर्माणको डिपिआरका लागि चाँडै बोलपत्र आह्वान गरिने मेयर पराजुलीले बताए। भ्यू टावर बन्न लागेको जग्गा सत्यनारायण मन्दिरको हो।

भ्यू टावर निर्माणको उद्देश्य वरपरको दृश्यावलोकन गराउने भनिए पनि यसमा व्यापारिक स्वार्थ रहेको सम्बन्धित अधिकारीहरूकै भनाइबाट प्रस्ट हुन्छ।

'भ्यू टावर चढेर वरपरको दृश्यावलोकन मात्र होइन, यहाँ राजवंशी समुदायको संग्रहालय, व्यापारिक भवन, डिपार्टमेन्ट स्टोर, पाँचतारे होटल, औद्योगिक प्रदर्शनी केन्द्र लगायत रहने छन्,' मेयर पराजुलीले भने।

उनका अनुसार डिपिआर तयार गर्न महानगरले तत्काल ५० लाख रुपैयाँ विनियोजन गर्नेछ। त्यसबाहेक सात करोड रुपैयाँसम्म खर्च गर्ने योजना अघि सारेको छ। संघीय र प्रदेश सरकार तथा स्थानीय उद्योगी व्यवसायीले पनि सहयोग जुटाउने प्रतिबद्धता जनाएको पराजुलीले बताए।

महानगरले भ्यू टावर शिलान्यास गरेका बेला हामीले त्यसको उचाइबाट देखिने विराटनगरको वर्तमान अवस्था नियाल्न खोजेका छौं।

यहाँ अधिकांश सडक निर्माण अधुरा छन्। निर्माणाधीन सडकले सहरै धुलाम्मे छ। खानेपानी स्थिति नाजुक छ। सर्वसाधारणको घरमा लेदो मिसिएको पानी आउँछ।सहरको यस्तो दुरावस्थाबीच सडक, ढल, खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा खर्च गर्न सकिने चार अर्ब बजेट भ्यू टावरजस्तो 'निरर्थक' काममा खेर फाल्न लागेको स्थानीयको आरोप छ। समस्याको थुप्रो ढाकछोप गर्न महानगर 'कस्मेटिक' काममा लागेको उनीहरू बताउँछन्।

ढल निकासमा झन् समस्या छ। ढल फुटेर जहिल्यै बाटो फोहोर हुन्छ। फोहोरमैलाको उचित व्यवस्थापन छैन। फोहोरका डंगुर जताततै देखिन्छन्। यसले प्रदूषण बढाइरहेको छ।

सरकारी शिक्षण र स्वास्थ्य संस्थाको अवस्था पनि फेरिएको छैन। पोखरिया र सत्यनारायण स्कुलबाहेकका सरकारी स्कुल व्यवस्थित छैनन्। यी दुई सरकारी स्कुलको भौतिक पूर्वाधारमा पनि सुधारको खाँचो छ। यी स्कुलको सुधार सरकारी प्रयासले भन्दा व्यवस्थापनको आफ्नै बुताले सम्भव भएको हो। अन्य सरकारी स्कुलमा पठनपाठन राम्रो छैन। नगरको पूर्ण साक्षरता घोषणामा मात्र सीमित छ।

स्वास्थ्य क्षेत्रको कुरा गर्दा कोशी अञ्चल अस्पतालमा दरबन्दीअनुसार चिकित्सक छैनन्। अस्पतालमा स्वास्थ्य सेवाको गुणस्तरमा फेरबदल आएको छैन। 

स्थानीय सरकार गठन हुनुअघि विराटनगरमा जे-जे विकासका काम सुरू भएका थिए, अहिले त्यसैको निरन्तरता मात्र भइरहेको छ। नयाँ काम भएका छैनन्। चालू काम समयमा सम्पन्न गर्न जोड दिइएको देखिँदैन।

पछिल्लो पाँच वर्षयता विराटनगर विकासमा २ अर्ब ३९ करोडको मझौला तथा एकीकृत वातावरण सुधार परियोजनाको काम जारी छ। यो बजेटमा फोहोरमैला प्रशोधन, बाटो र ठूला ढल निर्माण भइरहेका छन्। यी कुनै काममा जनताले चित्त बुझाउन सकेका छैनन्।

सहरको यस्तो दुरावस्थाबीच सडक, ढल, खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा खर्च गर्न सकिने चार अर्ब बजेट भ्यू टावरजस्तो 'निरर्थक' काममा खेर फाल्न लागेको स्थानीयको आरोप छ। समस्याको थुप्रो ढाकछोप गर्न महानगर 'कस्मेटिक' काममा लागेको उनीहरू बताउँछन्।

'अव्यवस्थित सहरको बीचमा ११० मिटर अग्लो भ्यू टावर बनाएर के देखाउन खोजेको हो? त्यहाँबाट सिंघिया-केशलिया खोलाको बाढीमा बगेका घर हेर्ने कि मुसहर बस्तीमा च्यातिएको छानोबाट भोका-नांगा जनता हेर्ने? रिक्सामा पेलिँदै गरेको मजदुरको गरिबी हेर्ने कि धूलोमैलोले ढाकिएको जीर्ण सहर हेर्ने?' धेरै स्थानीयको यही प्रश्न छ।

साहित्यकार सीमा आभास एसियाली विकास बैंकको सहयोगमा निर्माण थालिएका सडक र ढलनालाको अवस्था चित्तबुझ्दो नरहेको बताउँछिन्।

‘पानीमा लेदो आउँछ। बाटोघाटो, पुलपुलेसा र ढल व्यवस्थापन भइसकेको छैन, आधारभूत आवश्यकता नै पूरा भएको छैन,’ उनले भनिन्, ‘स्थानीय, प्रदेश र संघीय चुनावपछि नेताहरू जनमुखीभन्दा प्रचारमुखी र कस्मेटिक कामको प्रचारबाजी गर्न लालायित छन्।’

पुष्पलाल चोकका पोखरेल पनि महानगरले निमुखा जनताको आधारभूत आवश्यकता र अत्यावश्यक पूर्वाधार विकासलाई वास्ता नगरेको बताउँछन्।

‘विराटनगरका कुनै सडक राम्रा छैनन्, बर्खामा हिलाम्मे र सुख्खामा धुलाम्मे हुन्छ,’ उनले भने, ‘जनताको चाहना विकास र समृद्धि हो, भ्यू टावर बनाएर जनताले खोजेको समृद्धि कसरी आउला?’

उपभोक्तावादी अभियन्ता उत्तम ढुंगेल पनि विराटनगरबासीले महानगरको निम्ति चाहिने भौतिक पूर्वाधार नै नपाएको बताउँछन्।

उनका अनुसार यहाँका सबै वडामा खानेपानी पुगेको छैन। ढल निकास झन् पुग्दै पुगेको छैन। अलि ठूलो वर्षा हुँदा सहरभरि डुबानको समस्या छ। ‘मान्छेले पाउनुपर्ने आधारभूत आवश्यकता सम्बोधन हुन नसकेको अवस्थामा अर्बौं खर्च गरेर भ्यू टावर बनाउने घोषणा गर्नु विकासे कदम हुनै सक्दैन,’ ढुंगेलले भने, ‘पहिला जनताका आधारभूत आवश्यकता पूरा होस्।’

उनका अनुसार भ्यू टावर बनाउने बजेटले विराटनगरमा विकासको गति दोब्बर हुन सक्छ। स्थानीय सरकार त्यसमा केन्द्रित भएको भए नगरबासीमा खुसीको लहर आउन सक्थ्यो।

शिलान्यास गरिएको भ्यू टावरक्षेत्र विमानस्थलनजिकै पर्छ। नागरिक उड्डयन कार्यालय, विराटनगरका प्रमुख टेकनाथ सिटौलाका अनुसार यो अतिसंवेदनशील क्षेत्र हो। 'जहाज उडान–अवतरणको क्षेत्रभित्र यति अग्लो संरचना बनाउने कुरामा हाम्रो सहमति हुनै सक्दैन,’ उनले भने, 'यसबारे विमानस्थलसँग परामर्श गरिएको छैन। कुन उचाइ र दिशामा कतिसम्मको संरचना बनाउन दिने भन्ने हाम्रो पनि सरोकारको विषय हो।’

स्थानीयको यस्तो आलोचनाविपरित संघीय, प्रदेश र स्थानीय सरकार भने भ्यू टावर बनाउन कस्सिएका छन्।

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने भएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित आफैंले भ्यू टावर निर्माणमा अग्रसरता देखाएका छन्। ‘संघीय, प्रदेश र स्थानीय सरकार तथा निजी क्षेत्रसमेतको साझेदारीमा विकास, पहिचान, आम्दानी र मनोरञ्जनको थलो बन्ने गरी भ्यू टावर बनाउन लागिएको हो,’ मन्त्री पण्डितले भने।

उनले विराटनगरको विकासलाई भ्यू टावर योजनाले असर नगर्ने पनि बताए।

‘विराटनगरको विकास सँगसँगै जान्छ। कपडाको जुत्ता लगाउँदा भइहाल्थ्यो नि किन छालाको जुत्ता लगाउनुपर्यो, टाई नलगाए हुन्थ्यो नि किन लगाउनुपर्यो, टोपी नलगाए हुन्थ्यो नि, किन लगाउनुपर्यो भन्नेजस्ता कुराले हुँदैन,’ उनले भने, ‘भ्यू टावरले रोजगारी सिर्जना गर्छ, महानगरको पहिचान बन्छ, आम्दानीको स्रोत बढ्छ, पर्यटकीय गन्तव्यको थलो बन्छ।’

यहाँका व्यवसायी भने व्यापारिक प्रयोजनका लागि भ्यू टावर निर्माण आवश्यक नभएको बताउँछन्। विराटनगरमा साना ठूला डिपार्टमेन्ट स्टोर खुल्ने क्रम बढेको छ। त्यसमाथि भ्यू टावर बन्ने क्षेत्रमा ठूलो कारोबार पनि हुन्न।

व्यवसायी धीरज पोखरेल विराटनगरमा फनपार्कसहितको एउटा भ्यू टावर चाहिएको, तर यति ठूलो आवश्यक नभएको बताउँछन्।

‘व्यापारिक प्रयोजनका लागि सरकारले भ्यू टावर किन बनाउने?’ उनले भने, ‘व्यापारिक कम्प्लेक्स बनाउन यहाँका उद्योगी व्यवसायी नै सक्षम छन्। यहाँबाट के हेर्ने? के देखिन्छ र हेर्ने?’

यस्तो अवस्थामा चार अर्ब जुटाएर टावर बनाउनु आफैंमा हास्यास्पद रहेको उनले बताए।

महानगर मेयर पराजुली भने जनताका आधारभूत आवश्यकता र विकासको सपना ओझेल पार्दै आफ्नै कार्यकालमा भ्यू टावर निर्माण सक्ने बताउँछन्। ‘यसका लागि सहयोग जुटाउन संसारभरि रहेका नेपालीलाई ‘बास्केट फन्ड’ आह्वान गरिने छ,’ उनले भने।

विराटनगरको विकास र पर्यटकीय गन्तव्यका लागि भ्यू टावर आवश्यक परेको उनको भनाइ छ। विराटनगर प्रदेश नम्बर १ को अस्थायी राजधानी भएकाले यो ठाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेको उनले बताए।

‘भ्यू टावर बनाउने र विराट राजाको दरबार निर्माण मेरो लक्ष्य हो,’ उनले भने।

प्रतिकृया दिनुहोस

आज हरि बोधिनी एकादशी–तुलसी विवाह

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ

काठमाडौंको तापक्रम ६ डिग्री

काठमाडौं – तापक्रम घट्दै गएपछि चिसो बढ्दै छ । अाइतबार बिहानको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार बिहान ६ दशमलव ३ डिग्री

राष्ट्रपतिलाई १८ करोडको गाडी

मंसिर २, २०७५ काठमाडौं : सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ। औपचारिक कार्यक्रममा जाँदा